३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

यूएनडीपीले सुरु गर्‍यो जीविकोपार्जन पुनरुत्थान कार्यक्रम

काठमाडौँ — संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले जोखिममा रहेका मानिसलाई कोभिड–१९ महामारीको सामना गर्न सघाउन जीविकोपार्जन पुनरुत्थान कार्यक्रम सुरु गरेको छ ।

यूएनडीपीले सुरु गर्‍यो जीविकोपार्जन पुनरुत्थान कार्यक्रम

स्थानीय सरकारसँगको सहकार्यमा सुरु गरिएको कार्यक्रमको पहिलो चरणमा गरिब, जोखिममा रहेका र सबैभन्दा बढी प्रभावित ज्यालादारी मजदुरलाई छोटो अवधिको रोजगारी उपलब्ध गराइने भएको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र वाग्मती प्रदेशका ११ वटा सबैभन्दा बढी प्रभावित स्थानीय तहमा २ हजार महिला र पुरुषलाई रोजगारीमा सामेल गराइने यूएनडीपीले जनाएको छ । उनीहरूलाई सानो खालका सामुदायिक तथा पर्यटकीय पूर्वाधार परियोजनामा काममा लगाइनेछ ।

दीर्घकालीन हुने गरी ५ सय लघु उद्यम स्थापनाका लागि कामदारलाई सीपमूलक तालिम र प्रविधिसम्बन्धी सहायता गर्ने पनि उद्देश्य रहेको यूएनडीपीले बताएको छ । गण्डकी प्रदेशमा कामदारलाई ट्रेकिङ रुटको सफाइ र वृक्षरोपणमा सहभागी गराइने योजना छ ।

यही कार्यक्रमअन्तर्गत सिँचाइ, नहर, खानेपानी प्रणाली, ग्रामीण सडकजस्ता परियोजनामार्फत छोटो अवधिको रोजगारी प्रदान गर्ने योजना रहेको यूएनडीपीले जनाएको छ । यसका लागि २३ वटा त्यस्ता खालका परियोजना तयार पारिएको छ । यी कार्यक्रम समुदायकै नेतृत्वमा कार्यान्वयन गर्ने योजना छ । यी परियोजनामार्फत सबैभन्दा बढी प्रभावित १ हजार २१ सय जनालाई छोटो अवधिको रोजगारी प्रदान गर्ने लक्ष्य छ ।

यूएनडीपीले आफ्नै स्रोतबाट १५ लाख अमेरिकी डलर स्रोत जुटाएर सामाजिक, आर्थिक पुनरुत्थान प्रतिकार्यअन्तर्गत यी क्रियाकलाप सञ्चालन गर्न लागेको यूएनडीपीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : जेष्ठ २८, २०७७ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?